About BhajuMahesh

Mahesh Shrestha goes by BhajuMahesh; is a Fine Artist and likes to introduce himself as Socio-art Activist. He is being involved in Art and Mass-media since 2001 to till date.
Theatre, painting, photography and film is his passion !

Saturday, April 3, 2010

सन्दर्भ : मार्च २७-विश्व रंगमाच दिवसको (World Theatre Day-2010)

"यो विश्व एउटा रंगमाच हो र हामी सवै यसका कलाकारहरु ।"

यहाँ शेक्सपिएरको एकदमै चर्चित भनाईलाई साभार गर्न मनलाग्यो । हरेक बर्ष मार्च २७मा विश्वले अन्तराष्ट्रिय रंगमाच दिवस मनाउने गर्दछ । र हरेक बर्ष इन्टरनेसनल थिएटर इन्स्टीच्युट आइटिआईले स्मरणीय रहोस् नेपाल पनि आइटिआईको सदस्य राष्ट्र हो आइटिआईले एकजना विश्व चर्चित एवं रंगमाचको क्षेत्रमा बिशेष योयदान पुर्याउने एकजनालाई साझा सन्देश सम्प्रेषण गर्न आग्रह गर्दछ । यस बर्षको लागि विश्व रंगमाच दिवसको सन्देश हलिउडका चर्चित अभिनेत्री तथा विश्व चर्चित कलाकार डेम जुडी डेनेचले दिएकी छिन् । डेनेच एक विश्व प्रसिद्ध रंगकर्मी चलचित्र र टेलिभिजनका कलाकार हुन् । सन् १९३४ मा जन्मिएका डेनेचले हलिउडमा 'द थर्ड सिक्रेट', 'अ स्टडी इन टेरर', 'क्वान्टम सोलेस' आदि जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेकी छिन् । एन्टोनी एन्ड क्लियोपाट्रा,  ह्याम्लेट,  दी चेरी अर्कड,  दी सि,  दी रोयल फ्यामली आदि उनीद्वारा अभिनीत केही नाटकहरु हुन् ।

'विश्व रंगमाच दिवस सवै किसिमका रंगमाचलाई समेट्ने अवसर हो । रंगमाच मनोराजन र सूचना प्रवाहको एक सशक्त माध्यम हो । विश्वका जस्तोसुकै र जहाँका पनि वृहत संस्कृति र मानिसलाई समेट्न सक्ने शक्ति हुन्छ रंगमाचमा । तर रंगमाच त्यो भन्दा अझ शक्तिशाली छ र यसले जनचेतना जगाउन र सूचना प्रवाह गर्ने अवसर पनि प्रदान गर्दछ ।

रंगमाच अर्थात् नाटकको प्रस्तुति विश्वभरि नै हुनेगर्दछ र त्यो सधैं पारम्परिक पृष्ठभूमीमै हनुपर्छ भन्ने पनि छैन । प्रस्तुति अफि्रकाको कुनै सानो गाउँमा अर्मेनियाको उपल्लो पहाडमा या सिन्धुघाँटीको साँघुरो महाद्विपमा पिन हुनसक्छ । यहाँ सबैभन्दा महत्वपूर्ण कुरा स्थान र दर्शक नै हो । हामीलाई हँसाउने र रुवाउने क्षमता रंगमाचमा छ साथैं यसले एकचोटी सोच्न र मनन गर्न बाध्य पनि तुल्याउँदछ ।

सामूहीक कार्यबाटै रंगमाच सम्भव छ । कलाकारहरु माचमा देखिने मानिसहरु हुन् तर त्यहाँ त्यस्तो अचम्म र महत्वपूर्ण मानिसहरुको जमात पनि हुनेगर्दछ जो देिखंदैनन् । उनीहरुको पनि रंगमाचमा प्रस्तुतिलाई सफल बनाउन कलाकारको जत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । र सम्पूर्ण जसका भागेदार उनीहरु पनि हुन् ।

औपचारिक रुपमा मार्च २७ लाई नै विश्व रंगमाच दिवसको रुपमा मनाइने गरिन्छ । तर जनता वा दर्शकहरु जो बिना हाम्रो कलाकारको अस्तित्व नै छैन लाई मनोराजन प्रदान गर्न उनीहरुलाई शिक्षीत बनाउन सबै समय र अवसरमा हामी कलाकारहरु तत्पर र तयार रहनुपर्दछ नकि विश्व रंगमाच दिवसको अवसरमा मात्र ।'
यो हो यस बर्षका सन्देश प्रवाहक अभिनेत्री डेनेचको सन्देशको मूल साभार ।

नेपाल पनि आइटिआईको सदस्य राष्ट्र भएका नाताले हरेक बर्ष यहाँ पनि विश्व रंगमाच दिवस मनाउने
गरिन्छ । गरिन्थ्यो । मलाई थाहा भए अनुसार नेपाल आइटिआईका अध्यक्षमा डा। अभि सुवेदी हुनुहुन्थ्यो र अन्य सदस्यहरुमा गुरुकुलका कुलगुरु सुनील पोखरेल त्यस्तै डवलीका संस्थापक पुस्कर गुरुङ् एम। आर्ट। थिएटरका वीरेन्द्र हमाल आदि ।

नेपाली परिवेशमा मार्च २७ अर्थात् विश्व रंगमाच दिवसलाई रंगकर्मीहरुको दशैं पनि भनिने गरिन्छ । यसलाई उत्सवको रुपमा मनाउने परम्पराको थालनी शुरु भएको ८-९ बर्ष मात्र भएको छ । पहिले नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान हालको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विश्व रंगमाच दिवस मनाउन भ्याएसम्मका र खवर भएसम्मका रंगकर्मीहरु भेला हुने र आफ्ना सुख-दुःख बिसाउँने गर्दथे । पछि गुरुकुलको स्थापना पश्चात् सबै कार्यक्रम गुरुकुलतिरै सरेको छ । थाहा छैन यो बर्ष गुरुकुलले कसरी यो दिवसलाई मनाउने योजना गरेको छ !

सबैलाई ज्ञातै भएको कुरा हो गुरुकुलको स्थापनासँगै नेपाली रंगमाचले कस्तो फड्को मारेको छ र आज नेपाली नाटक कुन अवस्थामा छ । गुरुकुल नै नाटकको पर्याय भएको छ भन्दा पनि फरक पर्दैन । कैयौं साथीहरु जो गुरुकुल बाहेकका आफ्नै नाट्य संस्थामा काम गर्छन र भन्ने गर्छन्-"म नाटक गर्छु ।" र बुझ्ने मान्छेले यसरी बुझ्छ-"ए यो त गुरुकुलको रै'छ।"  उसले फेरि सोध्छ-"ए तपाईं गुरुकुलको हो ? उ अक्क न वक्क पर्छ र बाध्य भएर भन्ने गर्छ-"हो । अ गुरुकुल ।"  कारण यहाँ नाटक र रंगमाच बुझ्नेले गुरुकुललाई मात्र बुझेका र चिनेका छन् । यो सात बर्षमा गुरुकुलको स्थापना बि।सं। २०५९ सालमा भएको हो । गुरुकुलले जति नाम कमाएको छ र नाटकलाई जति इज्जत दिएको छ आज गुरुकुलले नै आफ्नो अर्कै बैकल्पिक ठाउँ खोज्नु पर्ने बेला आएको
छ । यसले आफ्नो र नाटकको इज्जत बचाई राख्न आफ्नै कुनो खोज्नुपर्ने बेला आएको छ । त्यसैले गुरुकुलले भनेजस्तो ठाउँ नपाए करिव डेढ करोडका नाटक र रंगमाचका सामाग्रीहरु टुडिखेलमा जम्मा पारेर आगो लाइदिएर बिदेश भासिन्छु भन्ने सुनिल पोखरेलका आक्रोस पनि नसुनिएका हैनन् । गुरुकुलको यो अवस्था र अग्रज सुनिल पोखरेलको यस्ता अभिव्यक्तीले रंगमाचका पछिल्ला पुस्ताहरुलाई साह्रै नमज्जासँग झस्काएको छ र सोच्न बाध्य बनाएको छ-'नाटक जीवनको लागि कि जीवन नाटकको लागि !'

अहिले सुन्नमा आएको छ कि सरकारले कतै जग्गा मिलाईदिन्छु भनेर गुरुकुललाई आश्वासन दिइरहेको छ । र गुरुकुल भने त्यही आशमा आफ्नो पाइलालाई एकरत्ति पनि नडगमगाई मैदानमै उत्रीरहेको छ । आफ्नो कर्मलाई गुरुकुलले छाडेको छैन । यहाँ आएर डेनेचको सन्देश सार्थक हुन्छ-कि रंगकर्मीहरुको लागि हरेक अवसर विश्व रंगमाच दिवस हो । सायद गुरुकुलले राम्रो र उचित स्थान पाएको दिन नै नेपालीहरुले विश्व रंगमाच दिवस मनाउने छन् र गर्नुपर्ने पनि त्यही हुनसक्छ । र उचीत स्थान नपाउन्जेल डेनेचले भने झै प्रस्तुतिका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेका स्थान र दर्शक हुन् हो अहिले गुरुकुलसँग नाटक देखाउने उचित स्थान नहोला तर दर्शक गुरुकुलले यो सात बर्षमा अथाहा बनाईसकेको छ । स्थानको लागि बैकल्पिक बाटो खोज्न गुरुकुललाई हामीले सुझाउनु पर्दैन ।

अन्तमाः सुनील सर तपाईंको नाटक टिकट काटेर हेर्न रत्नपार्कमा समेत दर्शक त्यतीकै आउँनेछन् र आउन् । तपाईलाई विश्व रंगमाच दिवस २०१० को यही शुभकामना !

भाजुमहेश
हालः कालीमाटी चोक, बाग्लुङ् राजमार्ग-४ पोखरा
____________________________________________________________
(Same article published in Kantipur Daily- 27 March 2010, Saturday) as:

No comments:

Post a Comment